२ आश्विन २०८१, बुधबार

टोपबहादुर भन्छन्- प्रचण्ड स्वघोषित नेता मात्रै हुन्


टोपबहादुर रायमाझी

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन् ।

सर्वोच्च अदालतको फैसला पछि नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्दै एमालेमा प्रवेश गरेका नेता रायमाझीले दाहालकै कार्यशैलीका कारण पार्टी कमजोर हुँदै गएको र आफूहरुले त्यही कार्यशैलीको विरोध गर्दै आएको बताए ।

आज शनिबार काठमाडौमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले ६९ सालमा नाममात्रैको महाधिवेशन गरिएको टिप्पणी गरे । उनले विगत ३३ बर्ष देखि विना बिचार तथा विधि र प्रक्रिया विना नै अध्यक्ष दाहाल स्वघोषित रुपमा नेतृत्वमा बसिरहेको आरोप लगाए । उनले दाहालको कार्यशैलीका कारण पार्टी कमजोर हुदै गएको बताए ।

रायमाझीले प्रचण्डले एमालेसँग एकता गर्दा क्रान्तिकारी हुने र आफूहरुले केपी ओलीलाई नेता मान्दा कसरी गैरक्रान्तिकारी हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।उनले माओवादी केन्द्रले एमालेसँग गएको चुनावमा तालमेल नगरेको भए अवस्था अत्यन्तै नाजुक हुन्थ्यो भन्ने पनि टिप्पणी गरे ।

माओवादी पार्टीले गरेको योगदानलाई कदर गर्नुपर्छ र कमजोरीलाई करेक्सन गर्नुपर्छ भनेर आफुहरु संघर्ष गरिरहेको उनले स्पष्ट पारे । नेकपा माओवादी केन्द्रको कार्यशैली राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था प्रतिकुल भएको दाबी उनले गरे ।

उनले आफूले प्रधानमन्त्री नपाएको झोंकमा प्रचण्डले प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने हर्कत गरेको पनि गम्भीर आरोप लगाए । २०६९ सालमा माओवादीले नाम मात्रैको महाधिवेशन गरेको स्मरण गर्दै उनले त्यसयता कहिल्यैपनि महाधिवेशन नगरेको जिकिर गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !