७ बैशाख २०८१, शुक्रबार

कांग्रेसको संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवार बनाउने प्रयत्न


रामचन्द्र पौडेल, कृष्ण सिटौला र सुजाता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन मिति नजिकिएसँगै नेताहरुबीच भावी नेतृत्वका लागि कसरत तीव्र भएको छ । सोही क्रममा हिजो यहाँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा छलफल गरेको छ ।

बैठकमा राष्ट्रिय राजनीति र कांग्रेसको भूमिकालगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिए । सकेसम्म समग्र पार्टीमा एकताको प्रयास गर्ने नभए कम्तीमा पनि आफूहरुबीच एकताका साथ अघि बढ्नुपर्ने प्रस्तावमा छलफल भएको र उक्त छलफललाई निरन्तरता दिने सहमति भएको उनले बताए ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरु केसी, डा. रामशरण महत, सुजाता कोइराला, डा. शेखर कोइराला, बलबहादुर केसी सहभागी थिए ।

उनीहरुमध्ये नेताहरु केसीद्वय र डा. महत बाहेक सबैले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने सहमति हुन नसके अन्य नेताहरुले पनि सभनपतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।

कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिकाअनुसार गाउँ-नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !