२ श्रावण २०८१, बुधबार

एमालेको आन्तरिक विवाद भोलिसम्म समाधान हुन्छ : प्रदिप ज्ञवाली

एमालेको आन्तरिक विवाद सहमतिउन्मुख, भोलि बस्ने कार्यदलको बैठकले टुंगो लगाउने


प्रदीपकुमार ज्ञवाली

काठमाडौंँ । नेकपा (एमाले) को आन्तरिक विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलको आज बसेको बैठक सहमतिउन्मुख पुगेको नेताहरुले दावी गरेका छन् । भोलि बिहान ११ बजे अर्को बैठक बसेर टुंगोमा पुग्ने एमालेका सचिव समेत रहेका कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताए ।

उनले विवाद समाधान निष्कर्षउन्मुख भएको भन्दै भोलि फेरि बैठक बसेर टुंग्याइने जानकारी दिए । उनले आवश्यक परे प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच पनि भेट हुनसक्ने बताए ।

यसैगरी कार्यदलका ओली समूहका संयोजक सुवास नेम्वाङले आज साँझसम्म पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसहित पार्टीभित्र आवश्यक छलफल गरेर सहमतिलाई अन्तिम रुप दिइ भोलि टुंगोमा पुगिने बताए ।

तीन दिनदेखि पार्टीको विवाद मिलाउन कार्यदलमा छलफल हुँदै आएकोमा नतिजा सकारात्मक बन्दै गएको ज्ञवालीले दावी गरेका हुन् । पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थित रुपमा सहमतिमा परिणत गर्न कार्यदलको बैठक केहि हदसम्म सफल भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो ।

कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !