११ बैशाख २०८१, मंगलबार

एमालेमा आशाको दियो बल्दै : एकता जोगाउन कार्यदलको बैठक जारी


एमाले कार्यदल बैठक फाइल फोटो

काठमाडौँ । नेकपा एमालेको आन्तरिक विवाद मिलाएर एकता जोगाउन गठित १० सदस्यीय कार्यदलको बैठक आज मंगलबार पनि सिंहदरबारमा जारी रहेको छ । पार्टीको आन्तरिक विवाद समाधान गर्न दुवै समूह सहमत भएपछि बैठक एमालेमा आशाको दियो बल्न शुरु भएको छ ।

आजको बैठकमा विवाद समाधानका लागि दुबै पक्षबीच गम्भीर छलफल हुने बुझिएको छ । अव दुवै पक्षले अदालतको फैसला मानेर पार्टीले संस्थागत निर्णय गरेर अघि बढ्ने सहमति दुवै पक्षबीच भएको छ ।

कार्यदलका संयोजक रावललाई १२ जेठमा अध्यक्ष ओलीले निष्कासन गर्ने निर्णय गरेपछि कार्यदल निष्क्रिय भएको थियो । एमालेको विवाद समाधानका लागि पुनः सक्रिय भएको कार्यदलले एकताको प्रक्रिया नयाँ ढंगले शुरुवात गरेको हो ।

कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थित रुपमा सहमतिमा रुपान्तरणका लागि कार्यदलको बैठक हिजो बसेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो ।

सिंहदरबारमा हिजो बसेको बैठकले हालसम्मका अनौपचारिक छलफल पुनरावलोकन गरेको र पार्टीभित्रै बसेर आन्तरिक समस्या समाधान गर्ने कुरा भएको एमालेका सचिव गोकर्णराज विष्टले जानकारी दिए । साथै,कार्यदलका सदस्यहरूबीच विवाद समाधानका लागि नयाँ शिराबाट अघि बढ्ने सहमति पनि भएको थियो ।

एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न आज साँझ ५ बजेसम्म समय दिइएका सन्दर्भमा कार्यदल सक्रिय भएको हो । नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकेपछि गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो ।

नेकपा (माओवादी केन्द्र) सँगको २०७५ जेठ ३ गतेको एकतापूर्वको अवस्था उत्पन्न भएपछि एमालेका अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको विशेष बैठकबाट भएका निर्णयमा वरिष्ठ नेता झलनाथ खनाल र नेपाल पक्षले असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गर्दै आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !