१२ बैशाख २०८१, बुधबार

वाग्मती प्रदेशसभाको बैठक आज बस्दै


वाग्मती प्रदेशसभा

मकवानपुर । वाग्मती प्रदेशसभाको हिजो अपराह्न ३ बजे बस्ने भनिएको बैठक विशेष कारणवश आज असार २१ गते दिनको १ बजे बस्ने गरी सारिएको वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको हिजो बिहान ११ बजे बस्ने भनिएको बैठक सर्वदलीय सहमतिको लागि हिजै अपराह्न ३ बजेको समय राखिएकामा पुनः विशेष कारणवश बैठकलाई स्थगित गरी आज दिनको १ बजे बस्ने गरी सूचना सम्प्रेषण गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेशसभाको बैठकमा हिजो विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गरेका थिए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा हिजो हेटौँडामा बसेको सर्वदलीय बैठक भएको थियो ।

बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी थिए ।

उनीहरुबीच आज असार २१ गते दिन १ बजे बस्ने बैठकमा विनियोजित बजेट शीर्षकमा छलफल पुनः सञ्चालन गर्ने सहमति भएको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बताए ।

भोलि बस्ने प्रदेशसभाको पहिलो बैठकमा सर्वदलीय बैठकमा सहमति भएअनुसार सरकारको तर्फबाट एक मन्त्रीले सरकारले ल्याएको बजेटमा भएका सत्यतथ्य विवरण सार्वजनिक गर्ने र प्रतिपक्षीले उठाएका विषयमा स्पष्टीकरण दिने र उनीहरुले व्यक्त गरेको भावनालाई कदर गर्दै विनियोजित बजेटमा फेरबदल हुनसक्ने सम्भावना रहेको प्रमुख सचेतक निरौलाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !