७ बैशाख २०८१, शुक्रबार

एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक बालुवाटारमा जारी


केन्द्रिय कमिटी बैठक फाइल फोटो

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज शनिवार दोस्रो दिन प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएपनि झण्डै १ घण्टापछि पौने ४ बजेदेखि बैठक शुरु भएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले संगठनका गतिविधि बढाउनेबारे आजको बैठकले निर्णय लिने जानकारी दिए । पार्टीमा देखिएको विवाद समाधान र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल भइरहेको छ ।

एमालेको आगामी महाधिवेशनको मिति असोजमा सार्ने कि २०७९ जेठमा लैजाने भन्ने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । बैठकमा माधव नेपाल समूहका नेताहरुको भने सहभागी भएका छैनन् तर उपाध्यक्ष वामदेव गौतम भने आजको बैठकमा पनि सहभागी भएका छन् ।

हिजो शुक्रवारको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका एमालेका २३ सांसदलाई सोमवार साँझसम्म ३ दिनभित्र हस्ताक्षर फिर्ता लिने समय दिएको छ । वरिष्ठ नेता नेपाल समूहले त्यसको कुनै अर्थ नभएको भन्दै ओली समूहले गरेको निर्णय अवैध भएको टिप्पणी गरेको थियो ।

आज एमाले बैठक शुरू हुनुअघि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको थियो । दुवै पक्षका दोस्रो तहका नेता एमाले एकता जोगाउन प्रयास गरिरहेका छन् ।

राजनीतिक रुपमा विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद मिलाउन दोस्रो तहका दुवै समूहका नेताको निर्णायक वार्ता ललितपुरको कुपण्डोलस्थित होटल समिटमा भएको छ । अन्तिमसम्म पनि एकताको प्रयत्न नछाड्ने भन्दै छलफललाई निरन्तरता दिएका हुन् ।

सहमतिका लागि तयार पारिएको मस्यौदामा अध्यक्ष केपी शर्मा ओली सहमत भएपनि वरिष्ठ नेता माधव नेपाल सहमत भइसकेका छैनन् । महाधिवेशन आयोजक कमिटी भंग गरेपछि हिजो शुक्रवार पहिलो दिनको बैठक बसेको थियो ।

यो पनि पढ्नुहोस्

माधव नेपाललाई प्रधानमन्त्री केपी ओलीले गरे फोन

एमाले विवाद मिलाउन दोस्रो तहका नेताको निर्णायक वार्ता होटल समिटमा जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !