१२ बैशाख २०८१, बुधबार

ओलीलाई वामदेवको सुझाव : प्रचण्डलाई सकिन्न, माधवलाई ल्याएर चुनावको वातावरण बनाउनुस्


प्रधानमन्त्री केपी ओली र वामदेव गौतम

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउन प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल समूहलाई सहमतिमा ल्याएर चुनावको वातावरण बनाउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार जारी एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले भने, ”प्रचण्डलाई त सकिन्न, कम्तिमा पनि माधव नेपालहरूलाई सहमतिमा ल्याएर चुनावको वातावरण बनाउनुस् ।’

उनले आफू जहिले पनि पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्दै पार्टी एकताका लागि ओली एक कदम पछाडि हट्नु र माधव नेपाल एक कदम अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘पार्टी एकता जोगाउन केपी कमरेड एक कदम पछाडि र माधव कमरेड एक कदम अगाडि बढ्नुपर्छ । म जहिले पनि एकताको पक्षमा छु । त्यो बेलमा पनि प्रचण्डलाई अविश्वासको प्रस्ताव फिर्ता लिन भनेको थिएँ, विषयअनुसार समर्थन र विरोध गर्छु ।’

उनले केन्द्रीय कमिटी ब्युँताउने निर्णय सही भएकाले आफू बैठकमा सहभागी भएको खुलासा गरे । गौतमले आफूले पार्टी एकता भंग हुने कुनै निर्णयमा हस्ताक्षर नगरेको पनि स्पष्ट पारे ।

गौतमले व्यक्तिगत रूपमा आफू पार्टी अध्यक्ष केपी ओलीको पक्षमा रहेको भन्दै गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किने भन्दै माधव नेपालसहितको एकता हुनुपर्ने बताए ।

उनले भने, ‘मैले आजसम्म मित्रघात गरेको छैन, जे भनिरहेको छु यो हाम्रो हितमा छ । व्यक्तिगत रूपमा म ओलीकै पक्षमा छु । तर, मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन, हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ ।’

गौतमले एमालेका सांसदले कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु अनैतिक भएको समेत बताए । उनले भने, ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाका पक्षमा हस्ताक्षर गर्ने थिएँ ।’

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बोल्दै उपाध्यक्ष वामदेव गौतमले पार्टी नेता माधव नेपालले गल्ती गरेको बताएका छन् ।

यो पनि पढ्नुहोस्

माधव नेपालले गल्ती गर्नु भएकै हो : उपाध्यक्ष गौतम

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन

पार्टी र सरकारका विरुद्ध मच्चाइरहेको स्याल हुइयाँ टिक्नेवाला छैन : अध्यक्ष ओली

बैठक स्थगित गर्न नेपाल समूहका नेताले गरेको आग्रह ओलीद्वारा अस्वीकार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु