६ बैशाख २०८१, बिहिबार

१४ औं महाधिवेशन मिति नजिकिदै गर्दा काँग्रेसको नेतृत्वमा कसरत शुरु


रामचन्द्र पौडेल, कृष्ण सिटौला र सुजाता कोइराला

काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशनको मिति नजिकिदै गर्दा पार्टीका विभिन्न समूहबीच भावी नेतृत्वका लागि कसरत शुरु भएको छ । सोही क्रममा यही असार ११ गते कांग्रेस वरिष्ठ नेता रामचन्द्र पोडेलले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसँग छलफल गरी आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए ।

सोमबार पनि नेतृ सुजाता कोइराला निवास मण्डिखाटारमा वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ कोइरालाबीच महाधिवेशन लगायत विषयमा छलफल भएको थियो । वरिष्ठ नेता पौडेल र नेता सिटौला १३ औँ महाधिवेशनमा पार्टी सभापतिका उम्मेदवार थिए ।

यही असार ४ गते सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । सो निर्णयपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः उम्मेदवारी दिने तयारीका साथ आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग चरणबद्ध रुपमा छलफल शुरु गरिसकेका छन् ।

संशोधित कार्यतालिका अनुसार गाउँ-नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० गतेभित्र र क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र तोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !