भावी आईजीपीको एकल दाबेदार रहेका एआईजी विश्वराज पोखरेलको ढोका गृहमन्त्रीले गरे बन्द Nepalpatra भावी आईजीपीको एकल दाबेदार रहेका एआईजी विश्वराज पोखरेलको ढोका गृहमन्त्रीले गरे बन्द
१२ श्रावण २०७८, मंगलबार

भावी आईजीपीको एकल दाबेदार रहेका एआईजी विश्वराज पोखरेलको ढोका गृहमन्त्रीले गरे बन्द


विश्वराज पोखरेल

काठमाडौँ । गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल बहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत डीआईजी थापालाई मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । डीआईजी थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेसंगै भावी आईजीपीका लागि विश्वराज पोखरेल र थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

एआईजी पोखरेललाई आईजीपीको एकल दाबेदार बनाउने गरी सरकारले २७ कात्तिकमा एआईजीको एउटा दरबन्दी थपेर बढुवा गरेको थियो । उक्त निर्णयको व्यापक आलोचना भएपछि संसदको राज्य व्यवस्था समितिले पनि बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दियो ।

तर संसदीय समितिको निर्देशनलाई वेवास्ता गर्दै सरकारले पोखरेललाई एआईजीमा बढुवा गर्‍यो । हाल पुनः एक एआईजीको दरबन्दी थप्दै विगतको गल्तीलाई सच्याइएको गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् । हालका आईजीपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !