६ बैशाख २०८१, बिहिबार

ओलीले बोलाए असार १६ गते एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक


एमाले स्थायी कमिटी बैठक

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् ।

आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आगामी असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकपछि प्रत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको बताए ।

उनले समसामयिक राजनीतिबारे अझै फराकिलो र केही निर्णय गर्नुपर्ने भएकोले असार १६ मा बैठक बोलाउनुका साथै पार्टी सदस्यता नवीकरणका कामलाई तीव्रता दिने निर्णय समेत भएको बताए ।

बैठकमा सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीको निर्णयलाई मान्यता नदिई कर्णालीका चार सांसदलाई अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको विषयमा समेत छलफल भएको बताइएको छ ।

सर्वोच्च अदालतले राजनीतिक दल सम्बन्धी ऐन २०७५ को दफा ३ ले प्रष्ट गरेको व्यवस्थालाई समेत उपेक्षा गरी त्रुटीपूर्ण फैसला गरेकोले त्यसको कानूनी प्रतिवादमा जानु परेको प्रवक्ता ज्ञवालीले बताए ।

बैठकमा नेता माधवकुमार नेपाल पक्ष विपक्षी गठबन्धनमा लागेकोबारे पनि छलफल भएको थियो । जनता र कार्यकर्ताको चाहनाअनुसार नेता नेपालको क्रियाकलाप मेल नखाएको ज्ञवालीले बताए ।

एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले सोलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक बोलाएका हुन् ।

यसअघि सर्वोच्च अदालतले समेत आयोजक कमिटीलाई नचिन्ने भन्दै कमिटीले गरेको कारवाहीको निर्णय वैधानिक नभएको आदेश दिएको थियो । तर ओलीले सर्वोच्चको आदेशलाई समेत बेवास्ता गर्दै बैठक बोलाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !