१३ बैशाख २०८१, बिहिबार

सर्वोच्चले संसद पुनःस्थापना गर्छ, केही दिनपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : प्रचण्ड


प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने र केही दिनपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

विपक्षी गठबन्धनका शीर्ष नेताहरुको आब्हानमा आज शनिवार संसद भवनमा राजनीतिक मामिला सम्बन्धी पत्रकारहरुसँगको अन्तर्क्रियामा बोल्दै प्रचण्डले संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री बनाउन सांसदहरू स्वतन्त्र रहेको दाबी गरे ।

सर्वोच्चमा देउवाको समर्थनमा बहुमत सांसदले हस्ताक्षर बुझाएको र लोकतान्त्रिक मान्यता अनुसार फैसला हुँदा देउवा प्रधानमन्त्री बन्ने उनले दाबी गरे । १४९ सांसदको हस्ताक्षर र १४६ सांसदको रिट सर्वोच्चमा दर्ता भएकाले देउवा प्रधानमन्त्री बन्ने उनको तर्क रहेको छ ।

उनले भने, ‘संसद पुनर्स्थापना हुनुपर्छ शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनैपर्छ । १४९ जना सांसदहरुको बहुमतसहित दाबी पेश भएकाले देउवा नै प्रधानमन्त्री हुनुपर्छ । शेरबहादुरजीले मलाई प्रधानमन्त्री चाहियो भन्नुभएको होइन । मैले र माधवजीले उभिदिनुस् भनेका हौ ।’

प्रधानमन्त्री केपी ओलीले सेटिङमा अदालतबाट फैसला भएको भन्दै अदालतलाई धम्क्याउने काम गरेको आरोप लगाउँदै उनले अब देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् । मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदा प्रधानमन्त्री ओलीले अदालत सेटिङमा चलेको आरोप लगाएको भन्दै प्रचण्डले आपत्ति जनाएका हुन् ।

उनले भने, ‘केपीले अदालतलाई धम्क्याउन र थर्काउन थालेका छन्। मलाई देखाएर मेरो सेटिङमा फैसला रे ! मेरो सेटिङमा नेपाल चलेको भए त…। सर्वोच्चले संविधानको व्याख्या अनुसार फैसला गर्छ । लोकतान्त्रिक मान्यता अनुसार फैसला गर्छ र गर्नुपर्छ। हेर्नुहोला केही दिनपछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ।’

‘सर्वोच्चले संविधान, ऐन–कानून, लोकतन्त्रको मूल्य मान्यता अनुसार प्रतिनिधिसभा पुनःस्थापना गर्छ, त्यसअनुसार केही दिनपछि शेरबहादुर प्रधानमन्त्री हुनुहुन्छ । प्रचण्डले पहिलै भनेको थियो, भनेर पछि प्रश्न उठाइएला, यस्तो पनि हुन्छ ? यति भन्न नपाइने राजनीतिक र लोकतान्त्रिक स्वतन्त्रतामा ?’ प्रचण्डले भने ।

कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बिदा दिन्छ भनेर धादिङमा बोलिएको कुरालाई गलत प्रचार गरिएको प्रचण्डले दाबी गरे । प्रचण्डले ओलीले सर्वोच्च अदालतलाई धम्क्याउने काम गरिरहेको आरोप लगाए ।

उनले भने, ‘केपी अहिले पनि अदालतलाई धम्क्याउन थालेका छन्, थर्काउन थालेका छन् । कहिले महान्यायाधिवक्ताबाट थर्काउन लगाउने, अहिले त आफैं । विचरा मलाई देखाएर, मैले सेटिङ गरेँ रे ! मेरो सेटिङमा नेपाल चलेको भए त ‍‍‍…?।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !