८ बैशाख २०८१, शनिबार

प्रचण्डले भने- अहिलेको राष्ट्रपतिभन्दा त राजा नै ठीक थियो


प्रचण्ड फोटो फाइल

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको उल्लेख गर्दै अहिलेकी राष्ट्रपति भन्दा राजाको कमसेकम सान त थियो भनेर टिप्पणी गरेका छन् ।

सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सम्पादकहरुसँग हिजो दिउँसो संसद भवन नयाँ बानेश्वरको हलमा सम्पादकसँगकाे अन्तक्रिर्या कार्यक्रममा बोल्दै प्रचण्डले विपक्षी पाँच दलको गठबन्धन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनकै लागि मात्रै नबनेको दावी गरेका थिए ।

आफूहरुको संघर्ष कसलाई प्रधानमन्त्री बनाउने र हटाउनेभन्दा पनि संविधान, लोकतन्त्र र राष्ट्रिय हितका लागि भएको उनले बताएका थिए । यो गठबन्धनलाई पछिसम्म कसरी लैजान सकिन्छ भन्नेबारे पाँच दलबीच लामो बहस र छलफल भएको उनले बताएका थिए ।

‘एउटा प्रधानमन्त्री बनाउन र एउटा हटाउनकै लागि मात्रै यो गठबन्धन बनेको होइन । यो संघर्ष संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको लडाईं हो । सिस्टम बचाउने वा नबचाउने भन्ने लडाइँ हो । यसमा पाँचै दलमा समझदारी बनेको छ । यो प्रधानमन्त्रीका निम्ति भएको संघर्ष होइन ।’ उनले हिजो भनेका थिए ।

सैद्धान्तिक सहमतिका साथ पाँच दलको गठबन्धन बनेको उनको भनाइ छ । उनले भनेका थिए, ‘पहिलो, संविधानको रक्षा गर्ने र समयानुकुल परिमार्जन गर्दै लैजाने, दोस्रो, लोकतन्त्रका आधारभूत मान्यताको रक्षा गर्ने र तेस्रो, देशको राष्ट्रियता रक्षा गर्ने भन्ने सिद्धान्तमा यो गठबन्धन बनेको हो।’

प्रचण्डले देशभित्र विदेशी शक्तिको चलखेल हुन नपाओस् भनेर ५ पूर्वप्रधानमन्त्रीले सामूहिक अपिल गरेको प्रष्टीकरण दिएका थिए । विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उनले परिस्थिति गम्भीर भएकै कारण आफूहरुले सामूहिक अपिल गरेको बताएका थिए ।

मुलुकको पछिल्लो अवस्थाबारे नागरिकलाई जानकारी गराउनै पर्ने भएको भन्दै प्रचण्डले पाँच पूर्वप्रधानमन्त्रीले त्यसलाई आफ्नो जिम्मेवारी ठानेको बताएका थिए । लोकतन्त्र, संविधान र राष्ट्रको चुनौतीका विरुद्धमा जस्तोसुकै अप्ठेरो परिस्थिति पनि सामना गर्ने प्रचण्डले बताएका थिए ।

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कुर्चीका लागि विदेशी शक्तिसामु जस्तोसुकै सम्झौता गर्न तयार रहेको भन्दै उनलाई र आफूहरुलाई एउटै नबुझिदिन आग्रह गरे । माओवादी अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको हितमा लड्ने आफूहरुको प्रतिवद्धता भएको समेत बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !