६ बैशाख २०८१, बिहिबार

संसद विघटनविरुद्ध बिहीबारदेखि आन्दोलन गर्ने विपक्षी गठबन्धनको निर्णय


देउवा, प्रचण्ड, नेपाल, भट्टराई र यादव फाइल फोटो

काठमाडौं । संसद विघटनविरुद्ध भोलि बिहीबारदेखि आन्दोलन गर्ने विपक्षी गठबन्धनले निर्णय गरेको छ । आज बुधबार साँझ नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले भोलिदेखि प्रतिगमनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनको बसेको बैठकमा समसामयिक राजनीतिबारे छलफल गरेर सो निर्णय गरेको हो ।

बैठकमा काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरू सहभागी बैठकले सामाजिक दुरी कायम गरी विरोध कार्यक्रम गर्नेबारे सैद्धान्तिक छलफल गरेको हो ।

विपक्षी गठबन्धनको बैठकले स्वास्थ्यका मापदण्ड अपनाएर जनपरिचालनका कार्यक्रम अघि बढाउने निर्णय गरेको हो । संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालनका कार्यक्रम अन्तर्गत भोलि विहीबार गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्ने भएका छन् ।

दोस्रो लहरको कोरोना संक्रमण घट्दै गएकाले स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै विरोधका कार्यक्रम अगाडि बढाउने गठबन्धनले निष्कर्ष निकालेको हो । स्वास्थ्य मापदण्डको पालना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको प्रतिगमनकारी​ निर्णयका विरुद्धमा कार्यक्रम गर्न पार्टी संगठनलाई जनपरिचालन गर्ने भएको हो ।

देउवाको दाबी खारेजी र संसद विघटनका विरुद्धमा सर्वोच्चमा न्यायिक सुनुवाई भइरहेको छ । कोरोना संक्रमणका कारण भन्दै यसअघि सडक संघर्षमा कार्यक्रम नगर्ने रणनीति लिएको विपक्षी गठबन्धनले अदालतमाथि दबाब सिर्जना गराउन खोजेका देखिन्छ ।

सर्वोच्च अदालतले हिजो मंगलबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ र २८ गते गरेको मन्त्रिपरिषद विस्तारलाई कार्यान्वयनमा नल्याउन दिएको अन्तरिम आदेशलाई बैठकले सकारात्मक भनेको छ । बैठकले ७ जेठमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन पनि संविधानसम्मत गरिकाले फिर्ता गर्ने आधार विश्वास लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !