६ बैशाख २०८१, बिहिबार

देउवालाई टक्कर दिन पौडेलले बोलाए आफूनिकट केन्द्रीय सदस्यको बैठक


शेर बहादुर देउवा र रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस सभापति शेरबहादुर देउवालाई टक्कर दिन आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । पौडेलले आफूनिकट नेताहरुलाई आगामी महाधिवेशन केन्द्रित भएर भोलि बिहीबार दिउँसो दुई बजे दियालो फुडल्याण्डमा बस्ने गरी बैठक डाकेका हुन् ।

आगामी १४ औं महाधिवेशनका लागि सभापतिको लागि पुन: उठ्ने भन्दै देउवाले तीव्र रुपमा आन्तरिक छलफल अघि बढाएपछि नेता पौडेल पनि तातेर आफूनिकट नेताहरुको बैठक बोलाएका हुन् । कांग्रेसको महाधिवेशन यहि भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुदैछ ।

पार्टी सभापति देउवाले शनिबारदेखि सोमबारसम्म सातै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गर्दै सक्रियता बढाएर फेरि आफू सभापति उठ्ने बताइसकेका छन् । देउवाले आफू सभापतिमा दोहोरिने भन्दै सहयोगका लागि आग्रह समेत गरेका छन् ।

पौडेल भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उठ्ने सोचमा छन् । तर उनले आफ्नो समूहमा छलफलपछि मात्रै उम्मेदवार तय भई औपचारिक घोषणा गरिने बताइरहेका छन् । यद्यपि महाधिवेशन नजिकिएसँगै सभापतिमा आकांक्षीहरूले सक्रियता बढाएका छन् ।

उपसभापति विमलेन्द्र निधि पनि सभापति उठ्ने तयारी गरेर महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग तथा युवा नेताहरूसँग छलफल गरेका छन् । कांग्रेस संस्थापन पक्षका केन्द्रीय नेताहरुले सभापति देउवालाई उपसभापति निधिसँग ‘वान अन वान’ वार्ता गरी निधिलाई मनाउन पहल गर्न सुझाव दिएका थिए ।

आगामी महाधिवेशनमा फेरि सभापतिमा आफू उम्मेदवारी दिने भन्दै शनिबार निधिलाई बोलाएर सहयोग मागेका थिए । तर उपसभापति निधिले आफू पनि सभापतिमा उठ्ने भन्दै देउवालाई उम्मेदवारी नदिन सुझाव दिएपछि देउवाले अर्को रणनीति अपनाएका छन् ।

तर कांग्रेसका सभापति देउवाले सभापतिका आकांक्षी विमलेन्द्र निधिलाई फकाउन थप प्रयत्न नगर्ने संकेत गर्दै बरु महामन्त्री कोइराला वा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको साथ खोजेका छन् । देउवाले निधिलाई नफकाउने रणनीति अपनाएर बरु शशांक र सिटौलातिर नजर लागेका हुन् ।

यसरी एकपटक पार्टी सभापति भएर प्रधानमन्त्री बन्ने सपना बोकेका पौडेलले पनि थप रणनीति अपनाइ रहेका छन् । जसरी एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिन समानान्तर कमिटि गठन गरेका माधव नेपाल जस्तै काँग्रेसमा पनि देउवालाई टक्कर दिन पटक-पटक पौडेलले आफूनिकट नेताहरुको बैठक बोलाउदै आएका छन् ।

यो पनि पढ्नुहोस्

देउवाले बोलाएको विपक्षी गठबन्धनको बैठक बुढानीलकण्ठमा बस्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !