१२ बैशाख २०८१, बुधबार

विमलेन्द्र, प्रकाशमान र शंशाकबीच भेट, के कुराकानी भयो ?


काठमाडौं । सोमबार दिउँसो कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच ‘लञ्च मिटिङ’ भएको छ । कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिका आकांक्षी निधि, कोइराला र सिंहले भेटवार्ता तीव्र बनाएका छन् ।

सर्वसम्मत नेतृत्व चयनका पक्षमा लबिङ गर्दै आएका उपसभापति निधिले आफ्नो वैवाहिक वर्षगाठको अवसर पारेर नेताहरुलाई निवासमै बोलाएका थिए ।

स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि निम्तो दिइएको थियो । तर देउवा आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफलमा रहेकाले आउन ढिलो भएको बताइएको छ ।

काँग्रेसका तीन शीर्ष नेताहरु भेटमा पाँचवटा विषयमा छलफल भएको छ । देशभर कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि सरकारलाई खबरदारी गर्ने, सिन्धुपाल्चोक लगायत देशभरको आएको बाढी र पहिरोबाट प्रभावितहरूलाई राहत, पुनःस्थापना र गासबासका लागि सरकार समक्ष पहल गर्ने, पार्टीको १४ औं महाधिवेशन र त्यसमा आफ्ना उम्मेदवारीको विषयमा छलफल भएको निधिनिकट स्रोतले जानकारी दिएको छ ।

यस्तै, छलफलमा आगामी निर्वाचनमा कांग्रेसको जित, गठबन्धनको तर्फबाट देउवालाई प्रधानमन्त्री बनाउन जोडतोडले लाग्ने विषयमा गठबन्धनका सबैबीच साझा धारणा बनाएर अघि बढ्ने विषय समेत समेटिएको हो । साथै आफूहरूबीच भएको संवादको विषयमा नेता कृष्णप्रसाद सिटौला, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेललाई जानकारी दिने पनि छलफल भएको स्रोतको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !