७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिलाई गृहमन्त्रीसहित ३ सुरक्षा निकायका प्रमुखले भेटे


विद्यादेवी भण्डारी र खगराज अधिकारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई गृहमन्त्री खगराज अधिकारी र तीन सुरक्षा निकायका प्रमुखले भेटेका छन् । राष्ट्रपतिले बोलाएपछि गृहमन्त्री, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शीतल निवास गएका हुन् ।

राष्ट्रपति भण्डारीले पछिल्लो केही दिनयता भएको भारी वर्षाका कारण भएको क्षति र जोखिम न्युनीकरणका लागि भएको प्रयासबारे सुरक्षा प्रमुखहरुबाट जानकारी लिएको बुझिएको छ । विपद् न्युनीकरणका लागि भएको प्रयासबारे गृहमन्त्री अधिकारीले राष्ट्रपति भण्डारीलाई बताएका छन् ।

छलफलमा राष्ट्रपतिले विपद्‍मा परेका जनताको उद्धार, राहत लगायतको बन्दोबस्त मिलाउन पनि निर्देशन दिएकी छन् । छलफलमा विपद् व्यवस्थापन र अहिलेसम्म भएका क्षतिका बारेमा राष्ट्रपति भण्डारीले चासो दिएकी थिइन् ।

मनसुन शुरु भएसँगै आएको बाढी र पहिरोबाट एक महिनामा १५ जनाको मृत्यु भएको छ भने ५२८ परिवार विस्थापित भएका छन् । जेठ ३० देखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १५ जनाले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !