१२ बैशाख २०८१, बुधबार

एमालेद्वारा कर्णालीका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन


अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशका आफ्ना पार्टीका तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ । आज शुक्रबार बसेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी एमालेका तीन जना मन्त्रीहरुलाई तत्काल राजीनामा दिन निर्देशन दिएको हो ।

एमालेले सरकारमा सहभागी भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई तत्काल राजीनामा दिन निर्देशन दिएको हो ।

वैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री शाही नेतृत्वको सरकार जोगाएका माधवकुमार नेपाल समूहका प्रकाश ज्वालासहित चार जनालाई एमालेले संसदबाट वर्खास्त गरेको थियो । जेठ २७ गते सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत चारै जनालाई संसदको हैसियत कायम गर्न आदेश दिएको थियो ।

एमाले एक ढिक्का भइदिएको भए सरकारको नीति तथा कार्यक्रम पारित हुने सम्भावना थिएन । नीति तथा कार्यक्रम पारित गर्ने दिन तीनै जना मन्त्रीहरु संसदमा उपस्थित भएनन् । संसदमा उपस्थित भएर पनि ज्वाला नीति तथा कार्यक्रमको विपक्षमा उभिएनन् । बहुमतद्वारा नीति तथा कार्यक्रम पारित भयो ।

शुक्रबारको संसदीय दलको बैठकमा पनि फ्लोरक्रस गरेका चारै जना उपस्थित नभएपछि दलको बैठकले तत्काल सरकारबाट राजीनामा दिन निर्देशन निर्देशन दिएको हो । दलको बैठकले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्ने निर्णय पनि गरेको छ ।

फ्लोरक्रस गरेर मुख्यमन्त्री शाही नेतृत्वको सरकार जोगाइदिएका चार जनालाई संसदबाट निस्काशन गरेपछि संसदीय दलको सचिवालय र दलका नेता यमलाल कँडेलविरुद्ध उनीहरुले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु