१३ बैशाख २०८१, बिहिबार

गण्डकीका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने


गण्डकी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले असार ४ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका नवनियुक्त मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने प्रस्ताव दर्ता गराएको सरकारका प्रवक्ता तथा मन्त्री कुमार खड्काले जानकारी दिए ।

जेठ २९ गते शनिबार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले एक हप्तापछि विश्वासको मत लिन लागेका हुन् । नेपालको संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

विश्वासको मत नलिइकन सरकारले महत्वपूर्ण कार्यहरु गर्दा प्रश्न समेत उठ्ने भएकाले सरकारले छिट्टै विश्वासको मत लिने प्रदेश सरकारका प्रवक्ता खड्काले बताए ।

आगामी शुक्रबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने गण्डकी खड्काले जानकारी दिए । विश्वासको मत लिन २ दिन अघि प्रदेशसभामा जानकारी गराउनुपने प्रावधानअनुसार आजै प्रदेशसभा सचिवालयलाई लिखित जानकारी गराइएको हो ।

११ मन्त्रालय भएको प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको दिन पोखरेलले ४ जनालाई मन्त्री नियुक्‍त गरेर शपथ लिएका उनले बाँकी मन्त्रालयमा विश्वासको मत लिएपछि मात्रै मन्त्री नियुक्त गर्ने तयारी रहेको खड्काले बताए ।

विश्वासको मत प्राप्त गर्न ३० मत आवश्यक पर्छ । सत्तारुढ गठबन्धनमा कांग्रेसका १५, माओवादीका ११, जनमोर्चा र जनता समाजवादीका २/२ र एक स्वतन्त्र सांसदको साथ छ ।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको पद सर्वोच्चले खारेज गरेपछि गण्डकी प्रदेशसभामा कूल ५९ सदस्य रहेकामा विश्वासको मतका लागि ३० सदस्यको समर्थन आवश्यक पर्दछ । सत्तारुढ गठबन्धनमा कांग्रेसका १५ जना, माओवादीका ११ जना, जनमोर्चा र जनता समाजवादीका २/२ जना र १ जना स्वतन्त्र सांसद गरी ३१ जनाको समर्थन मुख्यमन्त्री पोखरेललाई छ ।

तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चलखेल गरेर २ जना प्रदेशसभा सदस्यले पोखरेललाई दिएको समर्थन नगरेमा पोखरेलको सरकार ढल्ने देखिन्छ भने बिपक्षी दल एमालेको पनि बहुमत नपुग्ने भएकोले प्रदेशसभा नै विघटन गरेर निर्वाचनमा जानुपर्ने हुन्छ ।

तसर्थ ‘रात गए अग्राठ पलाउछ’ भन्ने चिन्ताले मौका आउँछ पर्खदैन भनेझैँ आइरन तातेकै बेला कपडामा लगाउनुपर्ने भएकोले उनले विश्वासको मत लिन हतार गरेको देखिन्छ । पोखरेलले विश्वासको मत प्राप्त गर्न नसके संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा भंग गरी ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !