१२ बैशाख २०८१, बुधबार

पूर्वप्रधानमन्त्री खनाल थप उपचारका लागि नयाँ दिल्ली प्रस्थान


झलनाथ खनाल र ईश्वर पोखरेल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा केही दिन अघिदेखि उपचार गराइरहेका नेता खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो ।

उनी बुधबार साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली प्रस्थान गरेका हुन् । खनाल श्रीमती, छोरा र एक चिकित्सकसहित नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

खनाल अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उनको उपचार गरिएको थियो । उनको ज्वरो घट्न सकेको थिएन । पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो ।

पोस्ट कोभिडका बिरामी खनाललाई क्रोनिक निमोनिया भएर फोक्सोमा पानी जमेको र रगतमा संक्रमण भएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । पहिलादेखि नै दिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहेका खनाललाई परिवारको सल्लाहमा एपोलोमा लगिएको हो ।

नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरी कोरोना संक्रमणमुक्त भई घर फर्किएका थिए । उनलाई पुन: स्वास्थ्यमा समस्या देखिएको हो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको लक्षण हेर्दा पोष्ट कोभिडपछिको समस्या हुनसक्ने आँकलन गरिएको थियो ।

अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोताले पहिलेदेखि नै उनलाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लान लागिएको बताए । मिर्गौलाको समस्याबाट पीडित खनालको फोक्सोमा पानी जमेपछि थप उपचारको लागि उनलाई नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको हो ।

थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गरेका थिए ।

‘‘पार्टी मिलाउनुस् कमरेड…’’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गरेको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !