१२ बैशाख २०८१, बुधबार

नयाँ दिल्ली जानुअघि खनालले पोखरेललाई भने, ‘पार्टी मिलाउनुस् कमरेड…’


झलनाथ खनाल र ईश्वर पोखरेल

काठमाडौँ । थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गरेका थिए ।

‘‘पार्टी मिलाउनुस् कमरेड…’’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गरेको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन ।

नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही महिनाअघि नेता खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका थिए ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल लान लागिएको छ ।

अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोताले पहिलेदेखि नै उनलाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लान लागिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !