८ बैशाख २०८१, शनिबार

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचार गर्न दिल्ली लगिंदै


झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिने भएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका नेता खनालको थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल लान लागिएको हो ।

उनका स्वकीय सचिव कृष्ण भट्टराईले आज दिउँसो साढे १२ बजे उपचारका लागि नयाँ दिल्ली लैजान थालेको जानकारी दिए । नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोताले पहिलेदेखि नै उनलाई एपोलोमा देखाइरहेकाले पारिवारिक र चिकित्सकको सल्लाहमा थप उपचारका लागि लान लागिएको बताए ।

खनाल अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना भएसँगै अक्सिजनको सपोर्टमा राखेर उनको उपचार जारी छ । उनलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको र वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको थियो ।

ज्वरो कम नभइ स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुने र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई आज बिहान नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए । उनलाई पुन: स्वास्थ्यमा समस्या देखिएको हो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको लक्षण हेर्दा पोष्ट कोभिडपछिको समस्या हुनसक्ने आँकलन गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !