८ बैशाख २०८१, शनिबार

सुदूरपश्चिममा ओली समूहका ७ प्रदेशसभा सदस्य निलम्बित


सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठक जारी

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली समूहका ७ जना सांसदलाई निलम्बन गर्ने निर्णय गरेको छ । आज सोमबार दिउँसो बसेको संसदीय दलको बैठकले ७ संसदलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

संसदीय दलले निलम्बन गरेका सांसदहरुमा पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लिलाधर भट्ट, माया तमाङ, बलदेब रेग्मी, ग्याल्बु बोहरा रहेका छन् । संसदीय दलले जारी गरेको ह्वीप पटक-पटक उल्लंघन गरेको आरोप लगाउँदै संसदीय दलले ७ सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशकी प्रमुख सचेतक दुर्गा बिकले सांसदबाट मुख्यमन्त्री त्रिलोचल भट्टलाई विश्वासको मत दिन र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न दलले जारी गरेको ह्वीप उलंघन भएको बताइन् ।

सोमबार बसेको दलको बैठकले उनीहरुमध्ये केहीलाई ७ दिन, केहीलाई १० दिन र केहीलाई १५ दिनका लागि निलम्बन गर्ने निर्णय गरेको विकले जानकारी दिइन् । जसअनुसार ३ जनालाई ७ दिन, २ जनालाई १० दिन र २ जनालाई १५ का लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

एमाले सुदूरपश्चिमका प्रमुख सचेतक दुर्गा विकले दिएको जानकारी अनुसार रतन थापा र पठान सिंह बोहरालाई १५ दिन, लीलाधर भट्ट र बलदेव रेग्मीलाई १० दिन र नेपालु चौधरी, माया तामाङ र बलदेव रेग्मीलाई ७ दिनका लागि निलम्बन गरिएको छ ।

संसदीय दलको बैठकमा ओली समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए । संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन नभएकाले निलम्बन गलत भएको ओली समूह दावी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !