८ बैशाख २०८१, शनिबार

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी पेश


पृथ्वीसुब्बा गुरुङ फाइल फोटो

पोखरा। गण्डकी प्रदेशमा विश्वासको मत प्राप्त गने नसकेर पदमुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनले आफ्नो दाबीमा जनता समाजवादी पार्टी (जसपा) को प्रदेश समिति र जनमोर्चाका सांसद कृष्ण थापाको साथ रहेको उल्लेख गरेका छन् ।

तर, जनता समाजवादीका सांसदहरू भने आफूहरूको समर्थन विपक्षीलाई रहेको बताइरहेका छन् । जसपाको प्रदेश समितिले मुख्यमन्त्रीमा पृथ्वीसुब्बालाई साथ रहेको पत्र प्रदेश प्रमुखलाई दिएको थियो ।

विश्वासको मत दिने बेलामा तटस्थ बसेका जनमोर्चा सांसद कृष्ण थापाले आफ्नो साथ अहिलेकै सरकारलाई रहेको बताएको भन्दै दाबी पेस गरेका हुन् । तर, विपक्षीले भने सांसदलाई नै उपस्थित गराएर दाबी पेश गरेको छ ।

गण्डकीका मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाएर पदमुक्त भएसँगै गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको थियो । मुख्यमन्त्री गुरुङले जेठ २७ गते बिहिबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असमर्थ भएका थिए ।

प्रदेशसभामा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गरेको र सभामा निर्णायार्थ पेश गर्दा पक्षमा २७ र विपक्षमा ३० मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरेका थिए ।

गण्डकी प्रदेशसभामा कूल ६० सदस्य रहेकामा विश्वासको मतका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्दथ्यो । बैठकमा ५८ प्रदेशसभा सदस्य उपस्थित भएकामा मतदान प्रक्रियामा ५७ जना सहभागी हुनाका साथै १ जना तटस्थ रहे । मनाङ, प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित तत्कालिन युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ मतदान प्रक्रियामा अनुपस्थित भएका थिए ।

गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । प्रदेश प्रमुखले बहुमतसहित सरकार गठन दावीका लागि आज २९ गते शनिबार अपराह्न ३ बजेसम्मको समयसीमा दिएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !