७ बैशाख २०८१, शुक्रबार

सभामुख सापकोटा र प्रमुख दलका शीर्ष नेताहरुवीच छलफल जारी


अग्नि सापकोटा, प्रचण्ड, देउवा, बाबुराम

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल जारी रहेको छ । सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि आमन्त्रण गरेका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा जारी छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधव नेपाल, संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कमिटी अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल लगायतका नेता सहभागी भएका छन् ।

सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बैठकमा बोलाइएको थियो ।

सभामुख सापकोटाले बोलाएको छलफलमा प्रधानमन्त्री ओलीलाई पनि निमन्त्रणा गरिएतापनि उनी अनुपस्थित रहेका छन् । यस्तै पूर्वप्रधानमन्त्री एवं एमालेका नेता झलनाथ खनाल भने भर्चुअल माध्यमबाट सहभागी हुने सभामुखको सचिवालयले जानकरी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पाठक विघटन गरेपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुखहरु, कानून व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !