८ बैशाख २०८१, शनिबार

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा फेरि पदमुक्त !


कृष्ण थापा

पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद कृष्ण थापालाई पार्टीले कारबाही गरेकोले फेरि पदमुक्त भएका छन् । आज शुक्रबारको संसद् बैठकमा उनी पदमुक्त भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन् ।

हिजो बिहीबार हृवीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनेमार्चाकी सचेतक पियारी थापाले जानकारी दिइन् । विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले हृवीप जारी गरेतापनि थापा तटस्थ बसेका थिए ।

थापालाई राजनीति दल सम्बन्धि ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारबाही गरिएको हो । जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि प्रदेशसभा सदस्य थापालाई पदमुक्त गरेको थियो ।

गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका थापाले कारवाही फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा जेठ २१ गते शुक्रबार रिट दायर गरेका थिए । आफूलाई असंवैधानिक तरिकाले कारवाही गरेर पार्टीले हटाएपछि अन्तरिम आदेशबाट पुनर्वहालीको माग गर्दै थापा सर्वोच्च अदालतमा पुगेका थिए ।

सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका थापालाई प्रदेशसभा सदस्यको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

थापाले दिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उनलाई गरिएको कारबाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले थापाले दलको ह्वीप उल्लंघन गरेको नदेखिएकाले उनले दल त्याग गरेको मान्न सकिन्छ कि सकिँदैन भन्ने पुष्टि नभएको बताएको थियो ।

यस्तै संसद् बैठक पर्सी आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । सत्तारूढ दल एमालेले प्रदेशसभा सञ्चालन नियमावली अनुसार मन्त्रीहरूको अनुपस्थितिमा नै बैठक चलाएको भन्दै उठेर विरोध जनाएका थिए । एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारीले सभामुखलाई मन्त्रीको सहभागिता बिना बैठक चलाउन नसकिने बताएकी थिइन् ।

यो पनि पढ्नुहोस्

सर्वोच्चद्वारा कृष्ण थापालाई प्रदेश सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !