१२ बैशाख २०८१, बुधबार

कर्णालीमा पदमुक्त भएका एमालेका चार सांसदलाई सर्वोच्चले गरिदियो पुनर्बहाली (पूर्णपाठ)


प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापा

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा नेकपा एमालेका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ । सर्वोच्चले कर्णालीमा ‘फ्लोर क्रस’ गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएर महेन्द्रबहादुर शाहीको मुख्यमन्त्री पद जोगाइदिने चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चार प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै चार संसदलाई बर्खास्त गर्न एमालेले प्रदेश सभालाई पत्र लेखेपछि उनीहरु पदमुक्त भएका थिए । उनीहरुले आफूहरुमाथिको कारवाही बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकहरुलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन आदेश दिएको हो ।

सर्वाेच्चले स्पष्टीकरण सोध्ने र कारवाहीको निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई भएको भन्दै केन्द्रीय कमिटीबाट नभएको कारवाहीलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

यस्तो छ सर्वोच्च अदालतले दिएको आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !