१३ बैशाख २०८१, बिहिबार

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ : प्रचण्ड


प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनर्स्थापना हुने बताएका छन् । आज मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रचण्डले भने, ‘अदालतले पनि अन्ततः हेर्ने भनेको संविधान हेर्ने हो । ओलीले ५ पुसमा पनि संसद विघटन गरे, हामीले लडेर संसद फिर्ता ल्यायौँ, त्यतिबेला पनि मैले हामी जिउँदै छौँ भनेको थिएँ, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, संसद पुनर्स्थापना हुन्छ ।’

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद विघटन गर्दा नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाएको उल्लेख गर्दै प्रचण्डले अहिले भने कांग्रेस दोधारमा नरहेको बताए । संविधान र लोकतन्त्र रक्षाका लागि पाँच दल एकै ठाउँमा दह्रो ढंगले उभिरहेको पनि प्रचण्डले सुनाए ।

अहिले विधान अनुसार नभई नांगो रुपमा संसद विघटन गरिएकाले संसद पुनर्स्थापना भएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षधरताको सरकार बन्ने विश्वास समेत प्रचण्डले व्यक्त गरे ।

उनले प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेस, एमालेको माधव नेपाल पक्ष र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवका साथै राष्ट्रिय जनमोर्चा पनि रहेको बताएका थिए। त्यस्तै केपी ओली र उनीसँग सम्बद्ध शक्तिले माओवादीलाई एक्ल्याउने प्रयास गरिरहेको पनि प्रचण्डको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !