१२ बैशाख २०८१, बुधबार

ओलीको प्रस्तावमा खनाल-नेपाल समूहले लिखित जवाफ दिने


झलनाथ खनाल र माधव नेपाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित जवाफ दिने भएको छ । आज सोमबार खनाल-नेपाल समूहका नेताहरुको भर्चुअल माध्यमबाट भएको छलफलले हिजो आइतबार ओलीले प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने तयारी गरेको एक नेताले जानकारी दिए ।

खनाल-नेपाल समूहका सबै माग सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने औपचारिक घोषणा गर्दै पार्टी एकताका लागि असन्तुष्ट झलनाथ खनाल-माधव नेपाल समूहलाई ६ बुँदे प्रस्ताव सहितको आह्वान गरेका थिए ।

ओलीले पार्टीका केन्द्रीय सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका नेताहरुलाई आधारमा मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील बनाउने प्रस्ताव गरेका थिए ।

साथै ओलीले खनाल-नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा पेश रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

अध्यक्ष ओलीले मातहतका कमिटी र जनसंगठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने बताएका थिए । उनले संगठनात्मक क्षेत्रका निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने पनि उल्लेख गरेका छन् ।

पार्टी एकताका विषयमा यसअघि पटक-पटक भएका छलफलमा पनि ओलीले यिनै शर्तहरु राख्ने गरेकाले खनाल-नेपाल समूह थप सशंकित बनेको छ । ओलीले पार्टी एकताका लागि विभिन्न सर्त राखेकाले यसमा शंका गर्नुपर्ने धेरै ठाउँ रहेको खनाल-नेपाल समूहको बुझाई रहेको छ ।

यो पनि पढ्नुहोस्

एमालेलाई जेठ ३ पूर्व फर्काउने ओलीको घोषणा, एकताका लागि ६ बुँदे आह्वान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !