४ बैशाख २०८१, मंगलबार

ओलीको आह्वानपछि खनाल-नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक


झलनाथ खनाल र माधव नेपाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहले आज स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई २०७५ जेठ ३ पूर्व फर्काउने घोषणा गर्दै एकताका लागि खनाल-नेपाल समूहलाई ६ बुँदे आह्वान गरेलगत्तै यसवारे छलफल गरेर आधिकारिक धारणा तय गर्न आज बिहान ११ बजे भर्चुअल माध्यमबाट बैठक बोलाइएको हो ।

पार्टी एकताका विषयमा यसअघि पटक-पटक भएका छलफलमा पनि ओलीले यिनै शर्तहरु राख्ने गरेकाले खनाल-नेपाल समूह थप सशंकित बनेको छ । ओलीले पार्टी एकताका लागि विभिन्न सर्त राखेकाले यसमा शंका गर्नुपर्ने धेरै ठाउँ रहेको खनाल-नेपाल समूहको बुझाई रहेको छ ।

ओलीले पार्टीका केन्द्रीय सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका नेताहरुलाई आधारमा मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील बनाउने प्रस्ताव गरेका छन् । यसको सट्टामा खनाल-नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा पेश रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता गर्नुपर्ने प्रस्ताव ओलीको छ ।

खनाल-नेपाल समूहका एक केन्द्रीय सदस्यका अनुसार ओलीको प्रस्ताव आफ्नो पद बचाइराख्ने षड्यन्त्र मात्रै रहेको भन्दै नेपाल पक्षले प्रस्ताव स्वीकार नगर्ने दाबी गरे । उनले ओलीले यसअघि पटक-पटक आफूहरुलाई यस्तै भ्रममा पार्न खोजेको भन्दै ओलीसँग अब यही प्रस्तावका आधारमा एक हुन सक्ने कुनै सम्भावना नरहेको स्पष्ट पारे ।

ओलीले एकताको प्रयास गरिरहेकाहरुलाई कमिटीमा राख्ने कुरा गरेको र सर्वोच्चमा पेश गरिसकेका हस्ताक्षर फिर्ता गर्ने कुरा गरेकाले आफ्नो स्वार्थअनुकूल प्रयोगका लागि मात्रै यो प्रस्ताव आह्वान गरेको खनाल-नेपाल समूहका नेताहरुको ठम्याई रहेको छ ।

नेकपा एमालेलाई जेठ ३ पूर्व फर्काउने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्दै एकताका लागि ६ बुँदे आह्वान गरेलगत्तै एमालेको खनाल-नेपाल समूहकी नेतृ रामकुमारी झाक्रीले ओलीले झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि मात्र आह्वान गरेको प्रतिक्रिया दिएकी छन् ।

पूर्वमन्त्री एवं नेकपा एमालेका यूवा नेता योगेश भट्टराईले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वान सकारात्मक भएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !