७ बैशाख २०८१, शुक्रबार

स्वतन्त्र न्यायपालिका माथि हस्तक्षेप नहोस् : देउवा


२२ फागुन, काठमाण्डौ । प्रमुख विपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न कांग्रेसले सहयोग गर्ने बताएका छन् । उनले संविधानलाई अझ सर्वस्वीकार्य बनाउन जरुरी रहेको बताउनुभयो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उहाँले संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारका रुपमा रहेको तीन वटै तहको निर्वाचन सफल बनाउन सबैले खेलेको भूमिकाको प्रशंसा गर्दै संविधानका आधारभूत संरचनामा परिवर्तन गर्ने काम कोही कसैबाट नहोस् भन्नुभयो ।

स्वतन्त्र न्यायपालिकाको गरिमा भत्काउने काम कोही कसैबाट नहोस् भन्दै उहाँले सबै निकाय संविधानले तोकेअनुसारको दायित्व पूरा गर्न सफल हुने अपेक्षा गर्नुभयो ।

आफ्नो नेतृत्वको सरकारले संविधान संशोधन गर्न खोजेपनि सफल नभएको स्मरण गर्दै उनले भने, ‘सरकारले त्यतातिर अघि बढ्न खोजेको सुन्दा खुशी लागेको छ । यसमा सफलता मिलोस् ।’

एमालेतर्फ संकेत गर्दै देउवाले हिजो संविधान संशोधन राष्ट्रहितमा छैन भन्नेहरु पनि संशोधनमा पक्षमा आउँदा खुसी लागेको बताउनुभयो ।

कांग्रेसले विपक्षी पार्टीको भूमिका संसद्मा सकारात्मक तवरले खेल्ने स्पष्ट पार्दै उहाँले सरकारलाई आफ्नातर्फबाट पूरापूर सहयोग हुने विश्वास दिलाउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !