११ बैशाख २०८१, मंगलबार

ओलीको आह्वानपछि झाक्रीको प्रतिक्रिया : हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन

झाक्रीले भनिन्, 'ओलीको आह्वान झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो'


रामकुमारी झाक्री

काठमाडौँ । नेकपा एमालेलाई जेठ ३ पूर्व फर्काउने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्दै एकताका लागि ६ बुँदे आह्वान गरेलगत्तै नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहकी नेतृ रामकुमारी झाक्रीले ओलीले झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि मात्र आह्वान गरेको प्रतिक्रिया दिएकी छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै उनले लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनस्थापना गर्ने सुनिश्चिता बिना नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएका एमाले सांसदको हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै नआउने स्पष्ट पारेकी छन् ।

साथै उनले यो आह्वान एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य भएको भन्दै यसप्रति भ्रममा नपर्न अनुरोध गर्दै विकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे आफ्नो पार्टीको स्थायी कमिटीको बैठक बसी संस्थागत धारणा दिइने बताएकी छन् ।

उनले लेखेकी छन्, ‘भर्खरै मिडियामा अध्यक्ष क. खड्ग प्रशाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो। सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुदै पढेँ। पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उदेश्यका लागि थियो र एकता भंग पनि खास उदेश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ। अब रह्यो नेकपा एमालेको एकताको कुरा: यो साच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होईन… झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ। अझ गम्भिर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिने? फिर्ता लिने पक्षसंग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन र? लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन। त्यसैले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य हो। यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु। बिकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे हाम्रो पार्टीको स्थायीको बैठक बसी संस्थागत धारणा दिइनेछ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !