७ बैशाख २०८१, शुक्रबार

एमालेको खनाल-नेपाल समूहको आज पनि केन्द्रीय समिति बैठक


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले आव्हान गरेको केन्द्रीय समिति बैठक आज पनि जारी रहेको छ । कोरोना महामारीका कारण भर्चुअल माध्यमवाट हिजो बिहिबारदेखि शुरु भएको बैठक आज शुक्रबार बिहान ११ बजेदेखि बसिरहेको छ ।

हिजो बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए भने बाँकी नेताहरुले छलफलमा राय प्रस्तुत गरिसकेपछि आज बैठक सकिनेछ । एमालेभित्र बढ्दो विवाद, पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा र आगामी योजना निर्माणकाबारे छलफल गर्न बैठक बसिरहेको हो ।

नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई आफ्नै समूहका ४ जना प्रभावशाली नेताहरुले ध्यानाकर्षण पत्र बुझाउदै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जोगाएमा आफूहरु सिद्धिने चेतावनी समेत दिएका छन् ।

नेताले २०७५ जेठ २ मा फर्किने भन्ने एजेण्डा राजनीतिक र वैचारिक नभएको भन्दै यत्तिकै भरमा केपी ओलीसँग मिल्दा घरको न घाटको भइने तीतो सत्य बताएका छन् । उनीहरुले अब फेरि पनि ओलीसँग सम्झौता गर्ने हो भने खनाल-नेपाल समूहको राजनीति सिद्धिने ध्यानाकर्षण गरेका हुन् ।

एमाले केन्द्रीय सदस्यहरु प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, विजय पौडेल र राजेन्द्रकुमार राईले खनाल र नेपाललाई लिखित सुझाव दिदै आजको पहिलो शर्त केपी ओली सरकारको वहिर्गमन र राजनीतिक दलहरुको सहयकार्य नै रहेको स्पष्ट पारेका छन् ।

खनाल-नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी एकता संकटमा परेको निष्कर्ष निकालेकै बेला बसिरहेको केन्द्रीय समिति बैठकलाई राजनीतिक वृत्तमा चासोपूर्वक हेरिएको छ ।

दुवै समूहका फरक फरक रणनीतिले माले एकता दिनप्रतिदिन धरापमा पर्दै गएको छ । नेता नेपालले बुधबार जनवर्गींय संगठनका नेताहरुसँग भर्चुअल बैठक गर्दै ओली सच्चिने ठाँउ नरहेकाले अब वैकल्पिक तयारीमा लाग्ने बेला आएको बताएका थिए ।

बैठकमा नेपालले संसद पुनस्थापनाको सम्भावना देखेपछि ओलीले फेरि पार्टी एकताको कार्ड फालेको समेत सुनाएको विद्यार्थी संगठनका एक नेताले बताए । उनका अनुसार नेपालले ओलीसँग कुनै ठोस प्रगति नभएको, ओली सच्चिने संकेत नमिलेको र फेरि जेठ २ मा फर्कने भनेर वक्तव्यबाजी पनि गर्न सक्ने बताएका थिए ।

नेकपा एमालेले पार्टीका माधव नेपाल–झलनाथ खनाल समूह पक्षले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिएको थियो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले हिजो एक विज्ञप्ति जारी गरी पार्टी अध्यक्षको परामर्शमा महासचिवले मात्र बैठक बस्ने भएकोले पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी हुन निर्देशन दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !