८ बैशाख २०८१, शनिबार

अमेरिकाबाट ५० लाख डोज खोप आउँदैछ भन्ने ट्वीट राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारले मेटे


राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकाल र प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो ट्वीट डेलेट गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले २ करोड ५० लाख डोज कोरोनाभाइरसविरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरेसँगै राष्ट्रपतिका विज्ञले सामाजिक सञ्जाल ट्वीटरमा नेपाललाई ५० लाख डोज खोप आउन लागेको कुरा लेखे । तर उनले उक्त ट्वीट डेलेट गरिसकेका छन् ।

उनले लेखे, “सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशिलताले कोभिड-१९ विरूद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ। हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ।”

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि ५० लाखको डोज आउन लागेको कुरा लेखे । शुक्रबार बिहान ट्वीटरमा उनले लेखे, “एक तिहाइ खोपको व्यवस्थापन: अमेरिकाबाट अनुदान-५० लाख, चीनबाट अनुदान-१८ लाख, भारतबाट अनुदान- १० लाख, सुरक्षाकर्मीलाई प्राप्त-१ लाख, भारतबाट खरिद- १० लाख, खरिद आउन बाँकी-१० लाख, कोभ्याक्स अनुदान-३ लाख ४८ हजार, जम्मा-१ करोड २ लाख ४८ हजार। कूल चाहिने-४ करोड डोज। बधाई सरकार।”

तर टीका ढकाल र प्रधानमन्त्री का प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो ट्वीट डेलेट गरेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !