७ बैशाख २०८१, शुक्रबार

एमालेको खनाल-नेपाल समूहको बैठक, नयाँ पार्टी खोल्नेबारे छलफल हुने


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले आव्हान गरेको केन्द्रीय समिति बैठक आज जारी रहेको छ । एमालेभित्र बढ्दो टकरावबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा र आगामी योजना निर्माणकाबारे छलफल गर्न कोरोना महामारीका कारण भर्चुअल माध्यमवाट आज बिहीबार बिहान ११ बजेदेखि बैठक बोलाएको हो ।

खनाल-नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी एकता संकटमा परेको निष्कर्ष निकालेकै बेला बोलाइएको केन्द्रीय समिति बैठकलाई चासोपूर्वक हेरिएको छ ।

खनाल-नेपाल समूहको हिजो सम्पन्न बैठकमा जनवर्गीय संगठनका अधिकांश नेतृत्वले अलग पार्टी खोल्न दवाव दिएका थिए । आज हुने केन्द्रीय कमिटीको बैठकबाट यसबारे औपचारिक निर्णय लिने नेपाल समूहको तयारी छ ।

पार्टी एकतालाई कायम राख्नका लागि दोस्रो पुस्ताका नेताहरु सक्रिय रहेका बेला खनाल-नेपाल समूहमा अन्तर्विरोध झनै चुलिएको छ । नेता नेपालको जानकारीबिना नै योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेता संस्थापनसँग वार्तामा रहेको बताइएको छ ।

नेपालनिकट दोस्रो पुस्ताका केही नेता पार्टी अध्यक्ष केपी ओली पक्षीय नेताहरुसँग अनौपचारिक संवादमा रहेकै बेला नेपालले केन्द्रीय समितिको बैठक बोलाएका हुन् । जबकी ठीक यही बेला संस्थापन पक्षले पनि खनाल-नेपाल लगायत शीर्ष नेताबाहेक धेरैभन्दा धेरै नेता कार्यकर्ता समेटेर पार्टीलाई एकढिक्का राख्ने रणनीति बनाएको छ ।

दुवै समूहका फरक फरक रणनीतिले माले एकता दिनप्रतिदिन धरापमा पर्दै गएको छ । नेता नेपालले बुधबार जनवर्गींय संगठनका नेताहरुसँग भर्चुअल बैठक गर्दै ओली सच्चिने ठाँउ नरहेकाले अब वैकल्पिक तयारीमा लाग्ने बेला आएको बताएका थिए ।

बैठकमा नेपालले संसद पुनस्थापनाको सम्भावना देखेपछि ओलीले फेरि पार्टी एकताको कार्ड फालेको समेत सुनाएको विद्यार्थी संगठनका एक नेताले बताए । उनका अनुसार नेपालले ओलीसँग कुनै ठोस प्रगति नभएको, ओली सच्चिने संकेत नमिलेको र फेरि जेठ २ मा फर्कने भनेर वक्तव्यबाजी पनि गर्न सक्ने बताएका थिए ।

नेकपा एमालेले पार्टीका माधव नेपाल–झलनाथ खनाल समूह पक्षले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिएको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज एक विज्ञप्ति जारी गरी पार्टी अध्यक्षको परामर्शमा महासचिवले मात्र बैठक बस्ने भएकोले पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी हुन निर्देशन दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !