११ बैशाख २०८१, मंगलबार

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै, पार्टी एकता बचाउन प्रयत्न जारी


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो ४ बजेको लागि बोलाइएको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने बताइएको छ ।

हिजो मंगलबार बालुवाटारमा बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन नेकपा एमालेले अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका थिए ।

हिजो बसेको बैठकमा पार्टी एकता बचाउन भई रहेका छलफलबारे विवेचना गर्दै एकता बचाउन प्रयास जारी राख्ने निर्णय गरेको थियो । त्यस्तै एमाले बैठकमा प्रतिनिधि सभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी भइरहेका बहसमाथि समिक्षा भएको थियो ।

आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन् । माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको एमाले उच्च स्रोतले जानकारी दिएको छ ।

विवाद मिलाउन सक्रिय आफू पक्षधर नेताहरूसँग ओलीले आफू पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार रहेको तर त्यसका लागि नेपाल समूह पार्टीमै रहने विषयमा विश्वासिलो आधार बन्नुपर्ने बताएका छन् । यसो भएमा वक्तव्य निकालेर पार्टी पुरानै अवस्थामा फर्किएको घोषणा गरी त्यति बेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको उनले जनाएका छन् ।

नेपाल समूहका तर्फबाट मध्यस्थता गरिरहेका दोस्रो पुस्ताका नेताले पनि यसबारे जानकारी दिएर नेता नेपाललाई मनाउन प्रयास गर्ने बताएको स्रोतको दाबी छ । सोमबार साँझ काठमाडौंको याक एन्ड यती होटलमा दुवै पक्षका नेताबीच भएको संवादमा पार्टीलाई कुनै पनि हालतमा विभाजनको बाटोमा लैजान नहुने र यसका लागि ओली र नेपाललाई सहमति गराउने प्रतिबद्धता व्यक्त भएको थियो ।

संवादमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण बिष्ट सहभागी थिए। राति अबेरसम्म भएको बैठकले उनीहरूबीच पुरानो संरचना र पार्टीको वर्तमान अवस्थाबारे समेत छलफल भएको स्रोतले जनाएको छ ।

एमाले विवाद मिलाउन नेताहरुबीच छलफल चलिरहेकाले आजको बैठकमा यसअघि स्पष्टिकरण सोधिएका नेताहरुको कारवाहीबारे कुनै निर्णय नभएको ज्ञवालीले बताएका थिए । हिजो ती सांसद्लाई सोधिएको स्पष्टीकरणबारे पनि निर्णय गरी कारबाही गर्न सक्ने सम्भावना समेत रहेको थियो ।

गत १२ जेठमा स्थायी कमिटीले घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, झपट रावल, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, दीपकप्रसाद भट्ट, कृष्णलाल महर्जन, नारायण खतिवडा, मेटमणी चौधरी, भवानीप्रसाद खापुङ र यज्ञराज सुनुवारलाई स्पष्टीकरण सोधेको थियो । तर उनीहरुले अझसम्म पनि स्पष्टीकरण बुझाएका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !