८ बैशाख २०८१, शनिबार

पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने एमालेको निर्णय


स्थायी कमिटीको बैठक

काठमाडौं । नेकपा एमालेको ओली समूहले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । आज मंगलबार बालुवाटारमा बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन नेकपा एमालेले अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

आज बसेको बैठकमा पार्टी एकता बचाउन भई रहेका छलफलबारे विवेचना गर्दै एकता बचाउन प्रयास जारी राख्ने निर्णय गरेको हो । त्यस्तै एमाले बैठकमा प्रतिनिधि सभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी भइरहेका बहसमाथि समिक्षा भएको छ ।

साथै बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनको समेत बैठकमा समिक्षा भएको छ । बैठकमा स्पष्टिकरण सोधेका १२ जना नेतालाई कारवाहीबारे बैठकको एजेण्डा नै नभएको प्रवक्ता ज्ञवालीले बताए । उनले एमाले वार्ताका लागि गठित कार्यदल अस्तित्वमा नरहेको भन्दै आवश्यक परे कार्यदललाई पुनर्गठन गर्न सकिने जानकारी दिए ।

बैठकको पूर्वसन्ध्यामा हिजो सोमबार राति अबेरसम्म एमालेका दुवै पक्षका दोस्रो तहका नेताबीच याक एण्ड यति होटलमा छलफल भएको छ । प्रवक्ता ज्ञवालीका अनुसार जेठ २ मा बनेको कार्यदलका केही सदस्य कारबाहीमा परेकाले त्यो अस्तित्व नभएको बताए ।

पार्टीलाई २०७५ जेठ २ को आसपासमा फर्काएर सहमति खोज्ने प्रयासस्वरुप ओली समुहका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीले नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग वार्ता गरेका हुन् ।

एमाले विवाद मिलाउन नेताहरुबीच छलफल चलिरहेकाले आजको बैठकमा यसअघि स्पष्टिकरण सोधिएका नेताहरुको कारवाहीबारे कुनै निर्णय नभएको ज्ञवालीले बताए । ती सांसद्लाई सोधिएको स्पष्टीकरणबारे पनि निर्णय गरी कारबाही गर्न सक्ने सम्भावना समेत रहेको थियो ।

गत १२ जेठमा स्थायी कमिटीले घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, झपट रावल, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, दीपकप्रसाद भट्ट, कृष्णलाल महर्जन, नारायण खतिवडा, मेटमणी चौधरी, भवानीप्रसाद खापुङ र यज्ञराज सुनुवारलाई स्पष्टीकरण सोधेको थियो । तर उनीहरुले अझसम्म पनि स्पष्टीकरण बुझाएका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !