७ बैशाख २०८१, शुक्रबार

लुम्बिनी राष्ट्रियसभा निर्वाचन : भर्चुअलबाट मतपरिणाम सार्वजनिक हुने


चन्द्रबहादुर खड्का र दृगनारायण पाण्डे

तुलसीपुर । लुम्बिनी प्रदेशमा आज हुन लागेको राष्ट्रियसभा निर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ । कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए ।

निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ । प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको भट्टराईले बताए ।

उक्त निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहेका छन् । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार छन् ।

उपनिर्वाचनमा प्रदेशसभा ८३ सदस्य र गाउँपलिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ गरी जम्मा ३०० मतदाताले मतदान गर्न पाउने छन् । आइतबार जसपाका चार सांसदलाई पनि मताधिकार दिइएपछि प्रदेशसभामा ८३ सदस्य भएको हो ।

यसअघि ७९ प्रदेशसभा सदस्यले मतदान गर्न पाउने मतदाता नामावली सार्वजनिक गरिएको थियो । निर्वाचन आयोगले आइतबार साँझ जसपाका यादव–भट्टराई समूहले कारवाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई मतदान गर्ने अधिकार दिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय निर्वाचन आयोगले जसपाबाट मन्त्री बनेका चार सदस्यलाई पनि पूरक मतदाताको अधिकार दिएको हो । यसअघि आयोगले प्रकाशित गरेको मतददाता नामावलीमा उनीहरुको नाम थिएन ।

आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !