१२ बैशाख २०८१, बुधबार

प्रतिगामी प्रवृत्तिका विरुद्ध बुद्धले झैँ विद्रोह गरौँ : प्रचण्ड


प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी नै प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध सङ्घर्षमा उत्रिनुको विकल्प नरहेको बताएका छन् ।

आज २५६५ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्न आह्वान गरेका छन् ।

बृहद् जनसमुदायको भावना र आकाङ्क्षा विपरीत सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औँ शताब्दीको विचार, भावना र चेतनालाई दर्शाउन नसक्ने भन्दै उनले द्वन्द्व र अहंकारले मानिसमा विनाश निम्त्याउने बताएका छन् ।

गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्याएको योगदान नेपालीहरुका लागि गर्वको विषय रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले विश्व शान्ति र मानव कल्याणका निम्ति बुद्धका उपदेश आज पनि उत्तिकै शाश्वत रहेको बताएका छन् ।

अध्यक्ष दाहालले आजकै दिन परेको किराँत राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

कोरोना भाइरसको महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन र आफू र आफ्नो समाजलाई सुरक्षित राख्न पनि उनले आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु