७ बैशाख २०८१, शुक्रबार

देउवाद्वारा १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदमा दाबी गरेका छन् । उनले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि विपक्षी दलको गठबन्धनका सांसदको हस्ताक्षरसहित आज राष्ट्रपतिको कार्यालयमा उक्त दाबी गरेका हुन् ।

सभापति देउवाको दाबीमा कांग्रेसका ६१, नेकपा (माओवादी केन्द्र) का ४९, नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपाल समूहका २६, जनता समाजवादी पार्टी नेपालका १२ र राष्ट्रिय जनमोर्चाका १ गरी १४९ प्रतिनिधिसभाका सांसदको हस्ताक्षर रहेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । प्रतिनिधिसभामा हाल २७१ जना सांसद सङ्ख्या रहेको छ ।

सभापति देउवाको दाबी प्रस्तुत गर्न जाँदा राष्ट्रपतिको कार्यालयमा विपक्षी दलका शीर्ष नेताको समेत उपस्थिति रहेको थियो । सो अवसरमा सभापति देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द निधि, महमन्त्रीद्वय शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अन्य स्थायी समितिका सदस्यहरु, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाको सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, राजमोका दुर्गा पौडेल लगायतको उपस्थिति थियो ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि आज जेठ ७ गते साँझ ५ः०० बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधिसभाका सदस्यलाई बिहीबार आह्वान गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !