७ बैशाख २०८१, शुक्रबार

वैकल्पिक सरकार गठनबारे छलफल गर्न देउवा र प्रचण्डबीच भेटवार्ता हुँदै


देउबा र प्रचण्ड फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्न आज शुक्रबार साँझ ५ बजेसम्मको लागि म्याद तोकेपछि वैकल्पिक सरकार गठन गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुने भएको छ ।

प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार दाहालले आज बिहान साढे ११ बजे कांग्रेस सभापति देउवालाई भेट्ने तय भएको बताएको छ । देउवासँगको भेटपछि माओवादी स्थायी समिति बस्ने भएको छ । देउवासँगको भेटपछि सबै सम्भावना हेरेर माओवादी स्थायी समिति बैठक बसेर थप निर्णय गर्ने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नलिने र वैकल्पिक नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको आह्वान गर्दै आज बेलुकी ५ बजेसम्म २१ घण्टाको म्याद दिएकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्नका लागि प्रतिनिधिसभा सदस्यलाई जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखेकाले मार्ग प्रसस्त गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !