१३ बैशाख २०८१, बिहिबार

एमाले कार्यदल बैठक आज पनि सिंहदरबारमा बस्दै


एमाले कार्यदल बैठक फाइल फोटो

काठमाडौं । नेकपा एमालेको पछिल्लो पार्टीभित्रको विवाद समाधान गर्नका लागि गठन गरिएको संयुक्त कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा साँझ ७ बजे बस्न लागेको हो ।

हिजो मंगलबार बसेको कार्यदलको बैठकले तीन बुँदे निर्णय गर्दै पार्टीमा कुनै पनि असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन पार्टीपङ्क्तिलाई आव्हान गरेको थियो । बैठकमा हिजो तय गरिएको कार्यविधिमा रहेर निरन्तर छलफल हुने बुझिएको छ ।

कार्यदलले पार्टीले एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने गतिविधि नगर्ने निर्णय गरेको थियो । पार्टीभित्र देखिएका समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउन पार्टीपङ्क्तिलाई सहयोग र सद्भाव लागि आव्हान गर्ने निर्णय समेत गरिएकोे थियो ।

साथै हिजोको बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसहिंता तयारी गरी लागु गर्ने निर्णय समेत गरेको थियो । राष्ट्रियसभाको आशन्न उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भएका रामवहादुर थापा ‘बादल’ लाई पार्टीले मतदान गर्ने निर्णय समेत गरिएको थियो ।

कार्यदलमा ओली समूहबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने माधव समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !