४ बैशाख २०८१, मंगलबार

मदन-आश्रितकै बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प गर्छु : वामदेव गौतम

पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको बामदेवको आरोप


वामदेव गौतम

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू जननेता स्व. मदन भण्डारी र स्व. नेता जिवराज आश्रितकै बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प गर्ने प्रण व्यक्त गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै उनले आज जेठ ३ गते महान नेता विचारक तथा संगठक मदन भण्डारी र जिवराज आश्रितको स्मृति दिवस भएकोले आज पनि आफू उनीहरूले निर्माण गरेको समाजवादको बाटो पछ्याउँदै हिंडिरहेको बताएका छन् ।

उनले मदन र आश्रितको बाटोमा हिंड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु रहेको स्पष्ट बताएका छ्न् । तर आज उनीहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेकोमा उनले आपत्ति समेत व्यक्त गरेका छन् ।

उनले आजको दिनमा पार्टीका सबै तहका नेता, कार्यकर्ता कमरेडहरुमा नेकपा (एमाले) सहित वृहत् वाम एकतामार्फत उनीहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गरेका छन् । साथै उनले यसका निम्ति आ-आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट जिम्मेवार नेताहरुलाई मुक्त हुन आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘आज जेठ ३ गते महान नेता विचारक तथा संगठक क. मदन भण्डारी र क. जिवराज आश्रितको स्मृति दिवस हो । आज पनि म उहाँहरूले निर्माण गर्नुभएको समाजवादको बाटो पछ्याउँदै हिंडिरहेको छु। यसै सन्दर्भमा म आज फेरि उहाँहरुको स्मृति दिवसमा उहाँहरुकै बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प गर्छु । क. मदन र क. आश्रितको बाटोमा हिंड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु हो । तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ । म आजको दिनमा पार्टीका सबै तहका नेता, कार्यकर्ता कमरेडहरुमा नेकपा (एमाले) सहित वृहत् वाम एकतामार्फत उहाँहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गर्दछु । यसनिम्ति आ-आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट जिम्मेवार कमरेडहरु मुक्त हुन आग्रह गर्दछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !