११ बैशाख २०८१, मंगलबार

कार्यदलमा पार्टीको एकता र हित एवं देशहित निम्ति पूरा प्रयास हुनेछ : भिम रावल

कार्यदल प्रमुखको जिम्मेवारी पाएलगत्तै भीम रावलले व्यक्त गरे यस्तो प्रतिबद्धता


भीम रावल

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहका नेता तथा पूर्वमन्त्री भीम रावलले कार्यदलमा पार्टीको एकता र हित एवं देशहित निम्ति पूरा प्रयास हुने बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै रावलले नेकपा (एमाले) को पुनर्जीवनपछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान, नियमावली र संगठनात्मक प्रणालीअनुरूप २०७५ साल जेठ २ अघिको स्थितिमा एकताबद्ध रूपमा अघि बढ्नु पर्छ भनी आफूले गत फागुन २३ लगत्तै भनेको स्मरण गराएका छन् ।

नेकपा एमालेभित्रको आन्तरिक विवाद मिलाउन अध्यक्ष केपी ओली समूह र वरिष्ठ नेता माधव नेपाल दुवै समूहको ५/५ जना गरी १० सदस्यीय कार्यदल गठन गरिएको छ ।

आज प्रधानमन्त्री समेत रहेका ओली र नेता माधव नेपालबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा भएको ‘वान टू वान’ वार्ताले दुबै तर्फबाट ५/५ जना रहने गरी वार्ता टोली बनाउने सहमति जुटेको हो ।

वार्ता टोलीमा ओली समूहबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

उनले लेखेका छन्, ‘नेकपा(एमाले) को पुनर्जीवन पछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान, नियमावली र संगठनात्मक प्रणालीअनुरूप २०७५ साल जेठ २ अघिको स्थितिमा एकताबद्धरूपमा अघि बढ्नु पर्छ भनी मैले गत फागुन २३ लगत्तै भनेको थिएँ । कार्यदलमा पार्टीको एकता र हित एवम् देशहित निम्ति पूरा प्रयास हुनेछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !