७ बैशाख २०८१, शुक्रबार

देउवाले महन्थसँग भेटेलगत्तै बोलाए आकस्मिक पदाधिकारी बैठक


महन्त ठाकुर र शेरबहादुर देउवा

काठमाडौं । नयाँ सत्ता समीकरणको प्रधानमन्त्रीको सपना देखेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको देउवाको सचिवालयले जानकारी दिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताहरूसँगको छलफललगत्तै देउवाले पदाधिकारी बैठक डाकेका हुन् । बैठकमा नयाँ सरकार निर्माणका लागि भइरहेका प्रयासबारे छलफल हुनेछ ।

यता नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले पार्टीको एकतालाई ध्यानमा राखी पार्टीका नेताहरू माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फिर्ता लिने निर्णय गरेको हो । एमाले एक हुने देखेपछि देउवा र प्रचण्ड आत्तिएका छन् ।

यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज राति ९ बजे सकिँदैछ ।

नयाँ सरकार गठनको लागि बिपक्षी दलहरुले जोडबल गरिरहेका छन् भने भने नेकपाको ओली समूह नयाँ सरकार बनाउन लागेका दलहरुको प्रयास असफल बनाउन खोजिरहेको छ । यसबीच विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको बाक्लिएको छ ।

ओली नेतृत्वमा रहेको सरकारले संसदवाट विश्वासको मत हासिल गर्न असफल भएपछि सुरु भएको नयाँ सरकार गठन प्रक्रियामा नेकपा एमालेकै माधव नेपाल समूह निर्णायक बनेर तालाचावी बोकेर बसेको छ । नेपाल समूहले सांसद पदबाट राजीनामा दिए काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना रहेको छ ।

तर नेपाल समूहले राजीनामा नदिएमा ओलीको नेतृत्वमा नै अल्पमतको सरकार बन्नेछ । नेपाल समूहले राजीनामा दिने सम्भावना बढेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली समूह राजीनामा रोक्न हरसम्भव प्रयत्नरत छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !