८ बैशाख २०८१, शनिबार

राष्ट्रिय जनमोर्चाद्वारा कृष्ण थापालाई कारवाही : संसदीय दलको नेताबाट हटायो


कृष्ण थापा

पोखरा । राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई नयाँ सरकार बनाउन विपक्षी गठबन्धनलाई सहयोग गर्ने पार्टी नीतिविपरीत लागेको भन्दै कारवाही गरेको छ ।

पार्टीले सोधेको स्पष्टीकरणको समेत बेवास्ता गर्दै जवाफ नदिएको भन्दै जनमोर्चाले थापालाई संसदीय दलको नेताबाट हटाउन महासचिव मनोज भट्टले हस्ताक्षर गरेको पत्र प्रदेशसभा सचिवालयलाई पठाइएको छ ।

पार्टीले प्रदेशमा नेपाली काँग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको सन्दर्भमा स्पष्टीकरण सोधेको थियो । सचेतक पियारी थापाले प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाएको पार्टीको निर्णय सभामुख नेत्रनाथ अधिकारीलाई जानकारी गराएकी हुन् ।

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनमोर्चाले नयाँ सरकार गठनका लागि कांग्रेस, माओवादी र जसपा गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको थियो । पार्टीको निर्णयलाई उल्लंघन गर्दै संसदीय दलका नेतासमेत रहेका थापाले सत्तारुढ दल एमालेलाई नै साथ दिने भएपछि राजमोले उनलाई स्पष्टीकरण सोधेको थियो  ।

यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको र उक्त समय सीमा आज दिउँसो ४ः०० बजे सकिनेछ ।

कृष्ण थापालाई कारवाही


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !