१२ बैशाख २०८१, बुधबार

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बस्न लागेको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

कोरोना महामारीको संक्रमणको त्रासका कारण भर्चुअल माध्यमद्वारा छलफल गर्ने बुझिएको छ । अपरान्ह २ देखि ३ बजेतिर बैठक बस्ने छलफल भई रहेको बुझिएको छ । नेकपाको सो समूहका २८ जना सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनको लागि हिजो बोलाइएको संसद्को विशेष अधिवेशनमा अनुपस्थित रहेका थिए ।

त्यसपछि सो समूहका नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधामन्त्री केपी शर्मा ओलीका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नलाई विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको प्रष्ट पारेका थिए ।

हिजो राती ३ पेजको प्रेस व्यक्तव्य जारी गर्दै उनले यो निर्णय हाम्रो देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक भएको बताएका थिए । उनले प्रधानमन्त्री ओलीका उपर्युक्त कामकार्वाइका कारण उनलाई राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित नभएको बताएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गर्न कांग्रेस, माओवादी र जसपाका शीर्ष नेताहरूलाई बोलाएकोमा सो बैठक स्थगित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको ३ दिनको समयसिमाभित्र वैकल्पिक सरकार गठनको दावी गर्न कांग्रेसका सभापति देउवाले पहल थालेका छन् ।

त्यस्तै कांग्रेसले नेकपा एमालेको खनाल-नेपाल समूहसँग छलफल गरिरहेको छ । विश्वासको मत दिन अनुपस्थित एमालेको माधव पक्षका नेतालाई समेत बोलाइएको कांग्रेसले जनाएको छ ।

माधव नेपाल पक्षले राजीनामा नदिएको अवस्थामा संसदको विद्यमान अंकगणित हेर्दा ओलीविरुद्ध गठबन्धनले बहुमत जुटाउन गाह्रो देखिन्छ । नेपाल पक्षलाई पनि बैठकमा बोलाउनुलाई राजनीतिक वृतमा अर्थपूर्ण रुपमा लिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !