७ बैशाख २०८१, शुक्रबार

अन्तत: रोकियो नेपाल समूहका सांसदको राजीनामा : संसद बैठकमा उपस्थित नहुने


माधव नेपाल र भीम रावल

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुको आज बिहान सोमबार सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको बैठकमा उपस्थित नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको संसद बैठकमा अनुपस्थित रहने निर्णय गरेको रावलले बताए । सांसदहरूको बैठकमा राजीनामा दिएर पनि केपी ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढ्यो भने के गर्ने ? भन्ने प्रश्न समेत उठेको थियो ।

केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने सुझाव दिएको बताइएको छ । पार्टी एकताका पक्षमा आफूहरूले हदैसम्मको लचकता अपनाएपनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बेवास्ता गरेको भन्दै रावलले संविधानविपरीत उभिने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताएका हुन् ।

उनले राजीनामाबारे छलफल भएपनि तत्कालका लागि संसद बैठकमा अनुपस्थित भएर विश्वासको मत नदिनु नै पर्याप्त हुने निष्कर्षमा पुगेको जानकारी दिए । यता आफूले संसदवाट विश्वासको मत नपाएर आफ्नो नेतृत्वको सरकार ढल्ने भएपछि प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्तिएका छन् ।

सामाजिक संजाल ट्वीटरमा केहि समय अघि दुई वटा पोष्ट गर्दै उनले माधव नेपाल समूहलाई हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा सबै माननीयहरूको ध्यानाकर्षण गराएका छन् ।

उनले पार्टीमा केही समस्या भए सँगै बसेर छलफल गरी समाधान गर्न आग्रह समेत गरेका छन् । उनले यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने स्पष्ट पारेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !