७ बैशाख २०८१, शुक्रबार

जसपा विभाजनवाट बच्ने संकेत : शीर्ष नेताको बैठक बस्दै


जसपा बैठक फाइल फोटो

काठमाडौँ । विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) बच्ने संकेत देखिएको छ । आज आइतबार दिउँसो २ बजे संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको निवासमा शीर्ष ६ जना शीर्ष नेताहरुको बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटको ब्रिफिङ र थप आगामी रणनीति तय गर्न शीर्ष नेताको बैठक बस्न लागेको हो । आइतबार बिहान मात्र जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवालाई भेटेका थिए ।

जसपा नेपालको ठाकुर-महतो समूहले आज बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पार्दै तटस्थ बस्ने संकेत गरेको हो । जसपाको उक्त समूहले आफ्ना मागहरू पूरा भइनसकेकोले विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

​जसपामा ओलीको निरन्तरताको पक्षमा देखिएका ठाकुर र महतोले यतिबेला पार्टी एकता कायम राख्न तटस्थ बस्ने नीति अख्तियार गर्नुपर्ने पक्षमा उभिएका हुन् । जसपा अध्यक्ष उपेन्द्र यादव ओली सरकारको विपक्षमा उभिएका बेला उनीहरुले बीचको बाटोमा जानुपर्ने बताइरहेका छन् ।

आज बिहान काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर पनि उनीहरुले विश्वासको मतको पक्षमा विपक्षीमा आफू नउभिने बताएका थिए । ठाकुर र महतोले पनि साथ नदिने भएपछि प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का भएको हो ।

जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले कांग्रेस सभापति देउवालाई भेटेर सत्ताका लागि आफ्नो पार्टी नफुटाउन आग्रह गरेका छन् । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि सत्ताको तालाचावी बोकेर बसेको जसपा दुई समूहमा विभाजित छ ।

ठाकुर र राजेन्द्र समूह प्रधानमन्त्री ओलीसँग नजिकिएका छन् भने संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह ओली सरकारलाई जसरी भएपनि हटाएर नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा उभिएका छन् ।

एमालेकै माधव नेपाल समूह, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भोलि वैशाख २७ गते सोमबार संसदको विशेष अधिवेशन बोलाइएको छ ।

विपक्षीमा रहेका कांग्रेस, माओवादी विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । यसअघि दुई धार देखिएको जसपाले ओलीलाई मत नदिए र तटस्थ बस्ने भएपछि ओलीले विश्वासको मत पाउने सम्भावना सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !