४ बैशाख २०८१, मंगलबार

ओलीलाई महन्थ-राजेन्द्रको धोका : बोली फेर्दै भने, ‘ओलीलाई विश्वासको मत दिँदैनौं, तटस्थ रहन्छौं’


केपी ओली, महन्त ठाकुर र राजेन्द्र महतो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदवाट विश्वासको मत लिने दिन नजिकिदै गर्दा उनी थप संकटमा पर्दै गएका छन् । प्रधानमन्त्री ओलीले ठुलो आशा-भरोसा गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्त ठाकुर र राजेन्द्र महतोले अन्तिममा आएर ओलीलाई धोका दिने संकेत गरेको छ ।

जसपा नेपालको ठाकुर-महतो समूहले आज बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पार्दै तटस्थ बस्ने संकेत गरेको हो । जसपाको उक्त समूहले आफ्ना मागहरू पूरा भइनसकेकोले विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्ने क्रम शुरू भइसकेको र अन्य माग पूरा गर्न पनि सरकार सकारात्मक रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत नदिए पनि विपक्षी गठबन्धनमा सहभागी नहुन आग्रह समेत गरेका छन् ।

​जसपामा ओलीको निरन्तरताको पक्षमा देखिएका ठाकुर र महतोले यतिबेला पार्टी एकता कायम राख्न तटस्थ बस्ने नीति अख्तियार गर्नुपर्ने पक्षमा उभिएका हुन् । जसपा अध्यक्ष उपेन्द्र यादव ओली सरकारको विपक्षमा उभिएका बेला उनीहरुले बीचको बाटोमा जानुपर्ने बताइरहेका छन् ।

आज बिहान काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर पनि उनीहरुले विश्वासको मतको पक्षमा विपक्षीमा आफू नउभिने बताएका थिए । ठाकुर र महतोले पनि साथ नदिने भएपछि प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का भएको हो ।

एमालेकै माधव नेपाल समूह, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भोलि वैशाख २७ गते सोमबार संसदको विशेष अधिवेशन बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु