१३ बैशाख २०८१, बिहिबार

एमालेको छिनोफानो आज : सामूहिक राजीनामाबारे निर्णय गर्न नेपाल समूहको बैठक बस्दै


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । अन्तत: सत्तारुढ दल नेकपा एमालेका केपी शर्मा ओली र माधव नेपाल समूह पूर्व र पश्चिम जस्तो देखिएकोले एमाले विभाजनको संघारमा पुगेको सहजै अनुमान गर्न सकिन्छ । एमाले नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न आज स्थायी कमिटी बैठक बस्दैछ ।

आज दिउँसो १२ बजेतिर भर्चुअल माध्यमबाट बैठक बस्ने स्थायी समितिको बैठकले थप औपचारिक निर्णय गर्ने बुझिएको छ । एमालेको नेपाल समूहले अध्यक्ष ओलीलाई २०७५ साल जेठ २ गतेमा फर्किन आज साँझसम्मको २४ घण्टे अल्टिमेटम दिएको छ ।

विशेष सुत्रका अनुसार नेपाल समूहका २० जना भन्दा केही बढी सांसदले राजीनामापत्रमा हस्ताक्षर गरेर आफ्ना नेता माधव नेपाललाई बुझाएको जानकारी प्राप्त भएको छ । यदि ओली २०७५ साल जेठ २ गतेमा फर्किनतयार नभएमा नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने भनेर राजीनामा पत्र तयारी अवस्थामा राखेका छन् ।

हिजो शनिबार राजधानीमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले ओलीसँग गरिएको एकता प्रयासको समीक्षा गर्दै ओली पार्टी एकताका लागि तयार नभएको निष्कर्ष निकालेको हो । तर हिजो बसेको बैठकले आज आइतबार साँझसम्म ओलीलाई समय दिएर पर्खने सहमति गरेको हो ।

हिजोको बैठकले ओलीलाई विश्वासको मत दिनुभन्दा सामुहिक राजीनामा गर्दा उपयुक्त हुने निष्कर्ष निकालेतापनि यसबारेमा आज बस्ने स्थायी कमिटीको बैठकबाटै औपचारिक निर्णय गर्न लागेको हो । वैशाख २७ गते विश्वासको मत दिने बेलामा फ्लोर क्रस गर्नु अनुशासन विपरीत हुने भएकाले त्यो समय भन्दा अघि नै सांसदहरुले राजीनामा दिने सम्भावना बढेको हो ।

एमालेका शीर्ष नेताहरुमा बढेको चरम शक्तिसंघर्षले एमाले पार्टी अचानो बन्दै बिग्रह र बिनासको बाटोउन्मुख भएको हो । एमालेको विभाजन हुन रोक्ने प्रयास असफल भएपछि नेपाल समूहका सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजीनामा दिने भएका हुन् ।

धेरै उतार-चढावका बाबजूद यसबीचमा भएका वार्ता सफल नभएको र कांग्रेस-माओवादी गठबन्धनसँग राष्ट्रियसभा उपनिर्वाचनदेखि ओली सरकार ढाल्ने सम्मको सहकार्य अघि बढिसकेकाले तत्काल पार्टी एकताको सम्भावना टरेको नेपाल समूहले निष्कर्ष निकालेको हो ।

नेपाल समूहका सांसदलाई एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गरेर कमजोर बनाउने कि सत्ता टिकाएर पार्टी एकता जोगाउने भन्ने दुबिधा चरम सीमामा पुगेपछि अन्तत: माधव समूहका २० जना सांसदले हिजो राती प्रतिनिधिसभा सदस्य राजीनामाको लिखतमा हस्ताक्षर गरेर आफ्ना नेता नेपाललाई बुझाएका हुन् ।

एमालेको नेपाल समूहका अर्का सांसदले दिएको जानकारी अनुसार नेपाल समूहका २३ जना प्रतिनिधिसभा सदस्यले पदबाट राजीनामा दिने पत्रमा हस्ताक्षर गरेको बताएका छन् । प्रधानमन्त्री ओलीलाई जसरी भएपनि सरकारबाट हटाउन उनीहरुले यस्तो अप्रिय कठोर कदम चालेका हुन् ।

नेपालसहित उक्त समूहका भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु ओलीलाई जसरी पनि सत्ताच्यूत गर्नुपर्ने पक्षमा उभिएका छन् । तर उक्त समूहकै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे लगायत पार्टीलाई विभाजन हुनवाट जोगाएर पार्टी एकताकै पक्षमा उभिएकाले ओलीलाई आज साँझसम्मको २४ घण्टे अल्टिमेटम दिएका हुन् ।

एमाले विभाजनवाट जोगिएर पुन: पार्टी एकताबद्ध हुने वा सामूहिक राजीनामा दिएर विभाजन हुने भन्ने बारेबारे आज छिनोफानो हुन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !